24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

सुनवलको मुहार फेर्ने स्पष्ट खाका छ – भरत थापा

- Advertisement -Flowers in Chania

सुनवलमा अहीले चुनावी सरगर्मी बढेको छ । नगरपालिकाको मेयरमा भिमबहादुर थापा (भरत) चुनावी मैदानमा हुनुहुन्छ ।  छोटो समयमा नै सफल उद्योगीको रुपमा स्थापित हुनु भएका थापा हाल उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । सुनवलको सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरी लोकिप्रियता हासिल गरेसँगै थापालाई नेपाली कांग्रेसले मेयर पदका लागि टिकट दिएको हो । युवा ब्यक्तित्व र समाजीक काममा सक्रिए थापाको भावि योजना बारे गरीएको कुराकानी
– तपाईको उम्मेदबारी के का लागि ?
सुनवल अत्यन्त राम्रो सम्भावना बोकेको नगर हो । समग्र नगरपालिकाको आर्थिक विकाससँग मेरो उम्मेदवारी जोडिएको छ । आर्थिक विकास बिना यहाँको कुनै पनि क्षेत्रलाई परिवर्तन गर्न सकिदैंन त्यसैले आम मतदाताहरुका सबै समस्यालाई मैले आर्थिक विकाससँग जोडेर हेरेको छु । त्यही रुपमा मैले मतदाताहरुसँग मेरो उम्मेदवारीलाई प्रस्तुत गरेको छु ।शिक्षा , स्वास्थ्य , रोजगारी , बाताबरण लगाएत हरेक क्षेत्रको विकास र सम्भावना बारे म संग स्पष्ट खाकां छ ।

तपाईले स्पष्ट खाका छ भन्नुभयो के के छ योजना ?
शिक्षा ः नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयहरुलाई निजी सरह गुणस्तरिय बनाउन अंग्रेजी माध्यमको पठनपाठन शुरु गरिने छ । प्राविधिक शिक्षालाइ जोड दिदैं कम्प्युटर शिक्षालाई अनिवार्य गरिने छ । सामुदायिक विद्यालयहरुको स्तरनोन्ती गराई प्रतिस्पर्धी बनाईने छ ।
स्वास्थ्य र सञ्चार ः सामान्य स्वास्थ्य सेवा लिन पनि नगरवासीहरु बुटवल र भैरहवा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण पहिलो प्राथमिकतामा रहेको छ । प्रस्तुती सेवाका लागि दक्ष चिकित्सको व्यवस्था गरी महिलाहरुका लागि छुट्टै अस्पतालको व्यवस्था गरिने छ । त्यसैगरी एक वार्ड एक स्वास्थ्य संस्थालाई प्रभावकारी रुपमा लागू गरिने छ । आजको युग सञ्चारको युग रहेकाले सार्वजनिक स्थलहरुमा निःशुल्क वाईफाईको व्यवस्था गरिने छ । भने आमसञ्चारको विकासका लागि समुदायमा केन्द्रीत रेडियो र टेलिभिजन स्थापनामा जोड दिइने छ । विशेष गरी महिला, स्वास्थ्य शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर सञ्चार गृहको स्थापना र विकास गरिने योजना अघि सारेर कार्यान्वयन गरिने छ ।
कृषि ः कृषिमा आधुनिकिकरण गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ । अझ पनि किसानहरु कृषि बिमा सम्बन्धी अनविज्ञ रहेकाले त्यसलाई व्यापाक बनाई निःशुल्क बिमा गराईने छ । हरेक नगरवासीहरुलाई कृषि तालिम प्रदान गरी ‘एक घर एक करेसाबारी’को रणनीतिलाई अघि बढाई कार्यान्वयन गरिने छ ।  घरमा चाहिने तरकारी आफैले उत्पादन गर्ने र बढी भएको तरकारीलाई बिक्री गर्नका लागि हरेक वडामा एउटा कृषि केन्द्र स्थापना गरिने छ । त्यसैगरी सुनवलमा रहेका निर्माण मजदुरहरुको दुर्घटना बिमा गराईने छ । भने एक घर एक स्वास्थ्य बिमा लागू गरिने छ ।
पर्यटन ः सुनवल नगरपालिका पर्यटनका संभावना बोकेको क्षेत्र हो । त्यसैले यहाँ रहेका बर्दगोरिया, मामी सत्सवरिया, महलपोखरी, बैरागनाथ मन्दीर, असनैयाको देवदह ताल, रमवापुरको रवरकट्टी तालको संरक्षण गरिने छ । भने सुनवलको खुटहटको उत्तरायण क्षेत्रको व्यवस्थापन गरिने छ । यि सबै क्षेत्रको संरक्षण र प्रर्वद्धन गरी आन्तरिक एंव बाह्य पर्यटन मार्फत आर्थिक विकासलाई जोड दिईने छ ।
रोजगार ः नगर क्षेत्रमा रोजगार मुलक उद्योग स्थापना गरिने छ ।‘ एक घर एक रोजगार’ र एक घर एक व्यवसाय’लाई प्राथमिकतामा राख्दै युवा लक्षित स्वरोजगारका कार्यक्रम ‘सञ्चालन गरिने छ । जसमा उद्यमशिलता, व्यवसायीक तालिम प्रदान गरी युवाहरुलाई व्यवसाय सञ्चालनका लागि लगानीको वातावरण सृजना गरिने छ । त्यसैगरी आर्थिक कारोबार गर्ने संस्थाहरुको समन्वयमा व्यवसाय सञ्चालन गर्न लगानी मैत्री वातावरण सृजना गरेर उद्योग स्थापनामा प्रोत्साहन गरिने छ ।
सडक र बजार व्यवस्थापनः नगर क्षेत्रमा रहेका स–साना सडकहरुलाई कालोपत्रे गरी एक वडाबाट अर्को वडामा जोड्नका लागि बजेट विनियोजन गरिने छ ।
सुनवल–महलपोखरी र पाल्पा जोड्ने सडक तत्काल शुरु गरिने छ । भने भूमही–जर्गाहा –वेहोरेदेखि पाल्पा जोड्ने सडक निर्माणलाई प्राथमिकता दिईने छ । सुनवल र भूमहीलाई व्यापारिक केन्द्र बनाउन सुनवल परासी सडकलाई फोरलेनको बनाईने छ ।
त्यस्तै हरेक सडकमा सोलार बत्ती र सिसी क्यामेरा जडान कार्य अघि बढाईने छ । खैरेनी–हरकट्ट सम्मको बजारलाई व्यवस्थापन गर्दै स्मार्ट सिटी बनाईने छ । सुनवलका १३ वटै वडा जोड्ने गरी रिङ्ग रोड निर्माण गरेर नगर बस सञ्चालन गरिने छ । भने व्यवस्थित बस पार्क र अटोभिलेज निर्माण गरिने छ ।
जग्गा व्यवस्थान ः सुनवल नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउन विशेष पहल गरिने छ । वर्षौदेखि रहेको सुकुम्बासी समस्यालाइ समाधान गर्न सरकारसँग पहल गरिने छ । भने वास्तविक सुकुम्बासीहरुको पहिचान गरी जग्गाधनी पूर्जा वितरण गरिने छ । यसअघि विभिन्न कारणले रोकिएका जग्गाधनी पूर्जाका लागि तत्काल सरकारसँग पहल गरेर वितरणको व्यवस्था मिलाउनका लागि कुराकानी पनि भइरहेको छ । सुनवल र भूमहीमा रहेका अव्यवस्थित हाट बजारलाई व्यवस्थित गरिने छ । नगरपालिकाभित्र रहेका जग्गालाई वन क्षेत्र, बसोबास क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्रमा वर्गिकरण गरी व्यवस्थित गरिने छ ।
त्यस्तै सार्वजनिक जग्गाको व्यवस्था गरी जेष्ठ नागरिकहरुलाई मनोरञ्जन स्थल स्थापना गरिने छ । ‘एक वार्ड एक जेष्ठ नागरिक केन्द्र ’स्थापना गरी त्यहाँ कर्मचारीको व्यवस्था गरेर दिवा खाना र मनोरञ्जनको व्यवस्था मिलाउन पहिलो काम हुने छ । भने आफ्नै स्रोतको व्यवस्थापन गरी जेष्ठ नागरिकहरुलाई सेवा सुविधा र भत्ता बृद्धि गरिने छ ।
सुनवल क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्न एक हजार बिगाहा क्षेत्रफल जग्गालाई व्यवस्थापन गरिने छ । खोलाहरुले कटान गरेका जग्गा व्यवस्थापनका लागि विशेष पहल गर्ने योजना अघि सारिएको छ । जसअनुसार तुरिया, सोमनाथ, तिलकना, पानभार भूमही, मिश्रौली, भूमही खोलालगायत नगर क्षेत्रमा रहेका खोलाहरुमा तटबन्धन गरिने छ ।
खानेपानी ः नगर क्षेत्रमा खानेपानी विस्तारको लागि हामीले पहिलो प्राथमिकतामा राखेका छौं । सुनवलमा अहिले भइरहेको पानीको स्रोतले पानी वितरण हुन नसकेको ठाउँमा नयाँ स्रोत पत्ता लगाई स्वच्छ खानेपानी वितरण गर्ने योजना अघि सारेका छौं । जुन कार्य तत्काल शुरु गरिने छ । भूमहीमा खानेपानीलाई अझ बढी व्यवस्थित गराई वितरणको व्यवस्था गराउन कार्य योजना अघि सारिएको छ । त्यसैगरी विद्युत नपुगेका स्थानमा विद्युत विस्तार गर्नका लागि बजेटसहितको कार्ययोजना अघि सारिने छ ।

–तपाईलाई नै किन मतदाताहरुले भोट दिने ?
म यहाँका नगरवासीहरुका समस्याबाट नजिकबाट परिचित छु । हिजो म कुनै पदमा नहुँदा पनि सबैका समस्यालाई सँगै लिएर समाधानका लागि पहल गरेको थिए र आज पनि   सँगै रहेको छु । हरसम्भव मैले नगरवासीहरुका गुनासा र समस्यालाई समाधानका लागि सम्बन्धीत निकायमा पु¥याउने कोशिश गरेको जगजाहेर नै छ ।  सामाजिक क्षेत्रमा होस् वा विकासका काममा म नगरवासीहरुसँगै रहेर काम गरेको छु । मैले चुनावका बेला प्रस्तुत गरेका ऐजेण्डालाई मात्र हेरेर होईन विगतमा यस क्षेत्रमा गरेको काम र गर्न खोजेको प्रयासलाई मूल्यांकन गरेर मतदाताहरुले मलाई सुनवलको मेयरमा रोज्नु हुने छ भन्ने विश्वास लिएको छु । त्यसैले म सँगै मेरो सिगों टिमलाई रोजेर विकास निर्माणमा सहभागी हुने अवसर दिनुहुने छ भन्ने अपेक्षा लिएको छु ।
–सुनवलका समस्याहरु के के छन् ?
स्वाठीलाई समावेश गरेर सुनवल नगरपालिका बनाइएपछि फेरी रामनगरलाई पनि यसमा समावेश गरिएको छ । परासी क्षेत्रकै मात्र होईन नवलपरासीमा रहेका सात वटा नगरपालिका मध्ये सुनवललाई आर्थिक विकास मार्फत् नमूनाका रुपमा अघि बढाउन हामीले विभिन्न योजनाहरु लिएर आएका छौं । योजनासँगै समस्याहरु पनि उत्तिकै छन् भने संभावनाहरु पनि प्रशस्त छन् । विशेष गरी सुनवल नगरपालिका ( रामनगरदेखि स्वाठी) मा सबै खाले समस्याहरु उत्तिकै छन् । खानेपानी, सडक, ढलका समस्या छन् । त्यसमा पनि अव्यवस्थित बसोबास, सुकुम्बासी समस्या अझ बढी रहेको छ । बेरोजगारी समस्यादेखि उपयुक्त बजार व्यवस्थापन,बसपार्कलगायतका समस्याहरु टड्कारो रुपमा रहेका छन् ।
–सुनवलको मुहार फेर्नका लागि मुख्यत गर्नुपर्ने काम के के होलान ?
मैले माथि नै भनिसके सुनवल क्षेत्र संभावना बोकेको नगर हो । यहाँ  उद्योग कलकारखाना, पर्यटन, शिक्षालगायतका संभावनाका क्षेत्रहरु छन् । यहाँलाई थाहा नै छ सुनवल नेपालमै पहिलो बालमैत्री घोषणा भएको नगर हो ।  यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न चुनौती छ । सुनवलमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता छ । सामान्य प्रसुती गराउनसमेत बुटवल जानुपर्ने बाध्यता छ । बालमैत्रीलाई कार्यान्वयन गर्दै अब सुनवललाई ‘महिला मैत्री ’बनाउन आवश्यक छ त्यसका लागि हामीले विभिन्न कार्यक्रम सञ्चालनको सोंच बनाएका छौं । महिला मैत्रीका लागि पहिला महिलाहरुलाई व्यवसायीक बनाउन जरुरी छ । अधिकार सम्पन्नसँगै व्यवसायीक बनाउन हामीले उद्योग वाणिज्य महासंघसँग विभिन्न कार्यक्रम सञ्चालनको पहल शुरु गरेका छौं । महिला शिक्षित र आत्र्मनिर्भर नभएसम्म समाज परिवर्तन हुँदैन त्यसैले ५ वर्षभित्र सुनवलाई महिला मैत्री बनाउने अभियान हाम्रो पहिलो प्राथमिकतामा रहेको छ ।
त्यसैगरी सुनवलमा रहेका उद्योगहरुलाइ प्रदुषण मैत्री बनाउने कार्यक्रम सञ्चालन गरिने छ । त्यस्ता उद्योगहरुलाई आधुनिक प्रविधि जडानमा प्रोत्साहन गरिने छ । सुनवलको मुहार फेर्नका लागि हामीले मतदाताहरुसँग प्रतिबद्धता लिएर गएका छौं । हाम्रो प्रतिवद्धता चुनावी ऐजण्डाका लागि मात्र नभई कार्यान्वयन गर्न सकिने मात्र रहेकाले मतदाताहरुले हामीलाई सहयोग गर्ने विश्वास छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्