24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

नेताहरुलाई व्यक्तिगत चन्दा दिएको हो भने छानबिन हुनुपर्छ : योगेश भट्टराई

- Advertisement -Flowers in Chania

प्रकाश ढुंगाना काठमाडौं, कात्तिक 

एमाले सभासद राज्यलक्ष्मी गोल्छाले नेताहरूलाई व्यक्तिगत रूपमा कुस्त चन्दा दिएको खुलासा गरेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। केही नेताले चन्दाको विषयमा छानबिन हुनुपर्ने कुरा सार्वजनिक रूपमै उठाएका छन् भने केहीले उनको भनाइलाई ‘कपोलकल्पित’ बताएका छन्।
पार्टी प्रवक्तासमेत रहेका एमाले सचिव योगेश भट्टराईले गोल्छाले उठाएको चन्दा प्रकरणमाथि पार्टीले छानबिन गर्नुपर्ने बताए। ‘गोल्छाले पार्टी नेताहरूलाई करोडौं चन्दा दिएको कुरा सञ्चार माध्यमलाई बताउनुभएको छ, पार्टीभित्र भने यसबारे छलफलै भएको छैन,’ उनले भने, ‘पार्टीसँग जोडिएको आर्थिक विषयमा पारदर्शी ढंगले छानबिन हुनुपर्छ र सत्यतथ्य बाहिर ल्याउनुपर्छ।’
एमालेले ‘पार्टीअनुसार नचलेको’ भन्दै राजीनामा दिन लगाएपछि सभासद गोल्छाले एक अन्तर्वार्तामा विभिन्न नेतालाई कुस्त रकम चन्दा दिएर सभासद भएको खुलासा गरेकी हुन्।
नेताहरूबाट व्यवसायीसँग चन्दा लिने कार्य भएको स्वीकार गर्दै भट्टराईले त्यस्तो रकम पार्टीको खातामा जम्मा हुनुपर्ने बताए। कसैलाई व्यक्तिगत रूपमा चन्दा दिनु अनुचित कार्य भएको उनले उल्लेख गरे। ‘गोल्छाले व्यक्तिगत रूपमा चन्दा दिएको कुरा गर्नुभएको छ,’ उनले भने, ‘व्यक्तिलाई दिएको रकम पार्टीलाई दिएँ भन्नु सुहाउँदो कुरा होइन।’
एमालेले बढी रकम चन्दा दिनेलाई सभासद बनाउन थालेपछि सचिव भट्टराईले यसअघि नै पार्टीभित्र मापदण्ड बनाउन माग गरेका थिए। उनको मागको सुनवाइ भएको थिएन।
चन्दा दिएकै आधारमा सभासद बनाउने हो भने नयाँ नीति बनाउन उनले पटक–पटक नेतृत्वको ध्यानाकर्षण गराएका थिए। ‘कसलाई बनाउने, पार्टीभित्रकै व्यवसायीलाई बनाउने कि अरूलाई बनाउने, चन्दा कति प्रतिशतसम्म लिनेजस्ता कुरा समेटेर नयाँ नीति बनाउन मैले माग गर्दै आएको हुँ,’ सचिव भट्टराईले भने, ‘त्यसो गर्न सकेको भए पार्टीलाई पारदर्शी बनाउन सहयोग पुग्थ्यो तर सुनुवाइ भएन।’
एमाले आर्थिक विभागका प्रमुख विष्णु रिमालले भने गोल्छाको भनाइको कुनै तुक नभएको र छानबिन पनि नहुने बताए। गोल्छाले पार्टीप्रति लगाएको आरोपलाई ‘सुनियोजित’ बताउँदै उनले यस्तो विषयमा छानबिन गर्नु बेकार भएको उल्लेख गरे।
‘उनलाई सभासद बनाउने बेलादेखि नै एउटा समूह निकै मरिहत्तै गरेर लागेको थियो, अहिले पनि त्यो समूह पार्टीलाई बदनाम गराउने खेलमा लागेको छ,’ उनले भने। राष्ट्रपति चयनका बेला बेकारका प्रायोजित कुरामा अड्किन नहुने उनको भनाइ थियो।
सभासद गोल्छाले एमालेलाई १ करोड ६५ लाख, युवा संघका गोविन्द थापालाई १ करोड, गंगालाल तुलाधारमार्फत माधव नेपाललाई १० लाख, गोकर्ण बिष्टलाई १० लाख, युवा संघलाई ६५ लाख, ऋषिराम पोखरेललाई १० लाख र सुमन प्याकुरेललाई १५ लाख चन्दा दिएको बताएकी छन्।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्